विश्वकप फुटबलका सेमिफाइनल र फाइनलका खेल नेपाल टेलिभिजनमा निःशुल्क प्रसारण गर्ने तयारी

 


काठमाडौं ।

कतारमा जारी विश्वकप फुटबल २०२२ अन्तर्गत सेमिफाइनल र फाइनलका खेल नेपाल टेलिभिजनमा प्रसारण गर्ने तयारी भएको छ । टेलिभिजन स्रोतले दिएको जानकारी अनुसार यसका लागि विश्व फुटबल महासंघ (फिफा)सँग छलफल चलिरहेको छ ।

नेपालमा विश्वकप फुटबल प्रसारणको अधिकार मिडिया हब प्रालिले लिएपनि नेपाल टेलिभिजनले आफ्नै पहलमा खेल प्रसारणको प्रक्रिया अघि बढाएको हो ।

हाल नेपालमा विश्वकप फुटबलका खेल हेर्न टेलिभिजन सेटटप प्रयोगकर्ताले हिमालय प्रिमियम च्यानलका लागि ५६५ रूपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था छ । उद्घाटन समारोह, उद्घाटन खेल, सेमिफाइनल र फाइनल खेल भने पैसा नतिरी नै हेर्न सकिनेगरी मिडिया हबले प्रसारण अधिकार लिएको छ ।

त्यसैगरि, इंग्ल्याण्ड फिफा विश्वकप फुटबलको क्वार्टर फाइनल प्रवेश गरेको छ। कतारको अल बयात स्टेडियममा गएराति सेनेगललाई ३–० ले हराउँदै इंग्ल्याण्ड अन्तिम आठमा पुगेको हो। ​इंग्ल्याण्डलाई जित दिलाउन जोर्डन हेण्डरसन, ह्यारी केन र बुकायो साकाले गोल गरे ।

खेलको ३८ औँ मिनेटमा हेण्डरसनले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाए। पहिलो हाफको इन्जुरी समयमा केनले गोल गर्दै २–० को अग्रता बनाए। ५७ औँ मिनेटमा साकाले गोल गर्दै इंग्ल्याण्डलाई ३–० को जित दिलाए। इंग्ल्याण्डसँग पराजित भएसँगै सेनेगल प्रतियोगिताबाट बाहिरिएको छ। अन्तिम आठमा इंग्ल्याण्डले फ्रान्सको सामना गर्नेछ। पोल्याण्डलाई हराएर फ्रान्स क्वार्टरफाइनलमा पुगिसकेको छ ।



Comments