बिहेको खुशी क्षणभरमै रुवाबासीमा बदलियो, जाजरकोट जिप दु’र्घटना

 


दैलेखको भगवतीमाई गाउँपालिका ३ मेतलपाटाका वीरेन्द्र खड्का जन्तीसहित दुलही लिन शनिवार छिमेकी जिल्ला जाजरकोटको छेडागाड नगरपालिका ४ खातीजेवा पुगेका थिए । माइतीघरमा आइतवार बिहानैदेखि बिहेको कर्मकाण्ड चलिरहेको थियो ।

दिउँसो भोज खाइवरी सबै जना आ–आफ्नो घरतर्फ लाग्दै थिए । जन्ती पनि फर्कने तयारीमै थियो । बिहेको माहोलमा सबै रमेका थिए । दुलही सम्झना बुढाका भिनाजु दीपक अधिकारी अघिल्लो दिन गाउँले युवाहरूबीच भएको झडपमा परी घाइते भएका थिए ।

बिहेका कारण उपचारमा जान पाएका थिएनन् । दीपकलाई चोटका कारण असजिलो भइरहेको थियो । जब बिहे सकिन थाल्यो, त्यही जन्ती लिने गाडीले उनलाई नजिकको थलह स्वास्थ्यचौकी पुर्‍याइदिने सल्लाह भयो । गाडीमा दीपकसँगै श्रीमती नैनसरा र उनका पाँच वर्षीया छोरी निशा पनि चढे ।

बिहेबाट फर्कँदै गरेका अन्य गाउँले, आफन्तहरू पनि त्यही मौकामा गाडी चढे । बिरामीसहित ११ जना यात्रु बोकेको गाडी अस्पताल नपुग्दै मध्यपहाडी राजमार्गको भीरपाटी भन्ने स्थानमा सडकबाट झण्डै २५० मीटर तल खस्यो ।

दुर्घटनास्थल दुलहीको घरबाट दुई किमी टाढा पर्दछ । कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा चालकसहित १० जनाको घटनास्थलमै र दुई जनाको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भयो ।

बिहेमा विवाद हुँदा – छेडागाड नगरपालिका–५ लेवाका दीपक अधिकारीको ससुराली हो झल्कुवा । साली सम्झनाको बिहेको भोज खान उहाँ आइतबार त्यहाँ पुगेका थिए । बिहेमा रमाइलो गर्दागर्दै आइतबार दीपक र छेडागाड नगरपालिका–४ भल्कुवाका महेश थापाको बीचमा विवाद भयो ।

विवाद बढ्दै जाँदा दीपक र महेशबीचमा कुटाकुट भयो । दीपक घाइते भए । गाउँलेहरूले झगडा छुट्याए । तर, दीपकलाई उक्त झगडामा आफूलाई अन्याय भएको भन्दै सोमबार इलाका प्रहरी कार्यालय वडावनमा जाने र त्यसपछि थलह बजार गएर उपचार गर्ने भन्दै दैलेखबाट जन्ती लिएर आएको जिपबाट प्रहरी कार्यालयसम्म पुर्‍याइदिन आग्रह गरे ।

दीपकसँगै बिहेमा भोज खाना आएका अन्य सर्वसाधारण पनि सोही जिपमा फर्कने क्रममा उक्त जिप दशेराको भिरमा दुर्घटना भयो । उपचार र न्याय माग्न वडावन जाने दीपकसँगै अन्य बिहे भोज खाना आएका १२ जनाको मृत्यु हुन पुग्यो ।

Comments