मेस्सी चम्किदा चौथोपटक जिते ‘म्यान अफ् द म्याच’ अवार्ड, अधुरै रहयो क्रोएसियाको फाइनलमा पुग्ने सपना

 


काठमाडौं, मंसिर २८ – अर्जेन्टिनाका लियोनल मेस्सीले कतारमा जारी फिफा विश्वकप फुटबलमा चौथोपटक म्यान अफ् द म्याच अवार्ड जितेका छन् । मंगलबार राति भएको सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियामाथि ३–० को शानदार जित निकाल्दा मेस्सी पुनः एकपटक खेलको उत्कृष्ट खेलाडी चुनिए । लुजाइल रंगशालामा भएको खेलमा अर्जेन्टिनाको शानदार जितमा टिमका कप्तान मेस्सीले १ पेनाल्टी गोल गर्दै १ गोलमा शानदार असिस्ट पनि गरेका थिए ।

लुसेल रंगशालामा क्रोएसियामाथि ३-० को सहज जितका साथ अर्जेन्टिनाले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो ।अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले २ र कप्तान लिओनेल मेस्सीले १ गोल गरे । पहिलो हाफमै २-० को अग्रतामा रहेको अर्जेन्टिनाले दोस्रो हाफमा गोल थप्दै जित पक्का गरेको थियो ।पहिलो हाफमा क्रोएसियाले

लगातार दबाब बनाएपनि त्यसलाई डरलाग्दो आक्रमणमा परिणत गर्न नसक्दा अर्जेन्टिनाले पाएको कमजोर अवसरमा गोल गर्न सफल भयो । पहिलो गोल पेनाल्टीमा गरेको अर्जेन्टिनाले दोस्रो गोल भने काउन्टर अट्याकमा क्लियर हुन् नसकेको बलमा गोल गर्यो ।दोस्रो हाफमा अर्जेन्टिनाले सुरुवातदेखि बल पोसेसनमा पकड जमाउँदै क्रोएसियालाई खेलमा फर्कन दिएन । अर्जेन्टिनाले पटक पटक आक्रमण गर्दै क्रोएसियालाई दबाबमा राखिरह्यो ।

मेस्सीले एकल प्रयासमा तेस्रो गोलको अवसर सिर्जना गर्दै अर्जेन्टिनालाई फाइनलनजिक पुर्याए ।खेलको ३४ औं मिनेटमा अर्जेन्टिनाले अग्रता लिएको थियो । कप्तान मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई १-० ले अघि बढाए । पेनाल्टी क्षेत्रभित्र जुलियन अल्भारेजलाई गोलरक्षक डोमिनिक लिभाकोभिचले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।फेरी अर्जेन्टिना टिमले पहिलो हाफमा अर्जेन्टिनाले २-० को अग्रता जोगाउन सफल भयो ।

लिओनेल मेस्सीले जुलियन अल्भारेजसँग वन टु पास खेलेपछिको प्रहारलाई क्रोएसियाका गोलरक्षकले विफल पारे । तर ६९ औं मिनेटमा अर्जेन्टिनाले ३-० को अग्रता लियो । लिओनेल मेस्सीले दायाँ विंगबाट एकल प्रयासमा युवा डिफेन्डर जोस्को भार्डीओललाई छक्याउँदै पेनाल्टी क्षेत्र भित्रआएर दिएको कटब्याकमा अल्भारेजले पहिलो टचमा फिनिस गरे ।

क्रोएसियाविरुद्ध मेस्सीले जितेको म्यान अफ् द म्याच कतार विश्वकपको चौथो म्यान अफ् द म्याच अवार्ड हो । अर्जेन्टिनाले खेलेका ६ खेल मध्ये मेस्सी एक्लै ४ खेलमा म्यान अफ् द म्याच घोषित भइसकेका छन् । यसले पनि मेस्सी कति तगडा लयमा छन् भन्ने कुरा देखाउँछ । मेस्सीले अब विश्वकपको फाइनल खेल खेल्नेछन् । सो खेलबाट पनि उनले अर्को म्यान अफ् द म्याच अवार्ड जितन सक्ने सम्भावना छँदैछ ।

Comments