गायक प्रमोद खरेलले शान्तिश्री सँग लोकदोहोरी गीत गाएपछि सामाजीक सञ्जालमा तहल्का

 


काठमाडौं – नेपाली सांगितिक बजारको एउटा चर्चित नाम हो प्रमोद खरेल । नेपाली आधुनिक गित संगितका चम्किलो ताराको रुपमा पनि गायक खरेलको चर्चा हुने गरेको छ । उनले गाएका गितसंगितका कारण त उनि चर्चित छदै छन् । त्यसमाथी पछिल्लो समय निकै लोकप्रिय बन्न सफल रियालिटी शो द भ्वइस आफ नेपालको कोच भएका कारण पनि उनको लोकप्रियता अझै बढेको छ ।

द भ्वइस आफ नेपालमा उनले गर्ने टिप्पणीका साथै उनि प्रस्तुत हुने शैलीका कारण उनि धेरै नेपाली दर्शकको मनमा बस्न सफल भएका छन् । त्यसो त पछिल्लो समय लोक तथा दोहोरी गीतको बजार केही फराकिलो बन्दै गएको छ। अधिकांश चलचित्रमा समेत लोक दोहोरी गीतहरुले स्थान पाइरहेका छन् । यसो हेर्ने हो भने लोक मेलोडी मिसिएका गीतहरु दर्शक स्रोताले बढी रुचाएको पाइन्छ।

बजारमा पनि लोकपन मिसिएका गीतहरुले बढी चर्चा पाउने गरेका छन् । त्यति मात्रै कहाँ होर, पछिल्लो समय अधिकांश आधुनिक गाउने गायक गायिका समेत लोक दोहोरी गीत गाउने तर्फ आकर्षित हुने गरेका छन्। लोकगीत भन्दा नाक खुम्चाउने गायक गायिका एवम् नायक नायिकामा पछिल्लो समय भने लोकगीत प्रतिको मोह धेरै बढेको छ।

यसैबीच, लोकप्रिय आधुनिक गायक प्रमोद खरेलले पनि अर्को नयाँ लोक दोहोरी गीतमा आवाज दिएका छन् । उनले चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारसँग नयाँ गीत गाएका हुन् । केही दिन अधि प्रमोदले रेकर्डिङ स्टुडियोमा शान्तिसँग खिचेको एक तस्बिर सार्वजनिक गर्दै मीठो लोकगीतमा आवाज भरेको जानकारी दिएका थिए।

‘सांगीतिक यात्रामा आज एउटा अर्को दोहोरी गीत रेकर्ड भयो’, प्रमोदले स्टाटसमा लेखेका छन् , ‘शान्तीश्री परियार मिठो स्वर की धनी हुन नै, उनको लय भर्ने खुबी पनि उस्तै गज्जव रहेछ ।’ नारायण भुजेलको शब्द, सुदीप सागरको संगीत संयोजनमा उनले स्वर दिएका हुन् । गीतकार नारायण गायिका शान्तीश्रीका श्रीमान हुन् । गीत सार्वजनिक हुन् भने केही समय लाग्ने गायिका शान्तीश्रीले जानकारी दिइन् ।

प्रमोदले गाएको यो गीत दोस्रो लोकगीत हो। केही वर्ष अगाडि सार्वजनिक भएको ‘धरोधर्म विद्यानाश’ बोलको लोकदोहोरी गीतमा पहिलोपटक प्रमोदले आवाज दिएका थिए। जुन गीत अत्याधिक रुचाइएको थियो। त्यस्तै, आधुनिक गायक स्वरुपराज आचार्य, राज सिग्देल, प्रताप दास, बादल थापा, कृष्ण काफ्ले लगायतले समेत लोकदोहोरी गीतमा आवाज दिइसकेका छन् ।

यसरी आधुनिक गायकहरुको लोक तथा दोहोरी गीततर्फ मोह बढ्नु पक्कै पनि लोक संगीतको क्षेत्रमा सकारात्मक कुरा हो। म बिना कसै कसैलाई मुस्किल छ पोखरामा बोलको गितले प्रमोदलाई देश देखी बिदेशमा लोकप्रिय बनाएको थियो । एक पछि अर्को गित गर्दै प्रमोदको व्यस्तता बढ्न थाल्यो । बिभिन्न कन्सर्टहरुमा पनि उनको खोजी हुन थाल्यो । यति सम्म की हाइ रेन्जको गीत, ब्याकग्राउन्ड गीत, स्याड भर्सनको गीतका लागि संगीतकारले प्रमोदलाई नै सम्झन थाले ।

Comments