अर्जेन्टिना बन्यो यसकारण नम्बर वान टिम, विश्वकप जित्ने आकलन

 


काठमाडौं । सेमिफाइनल पुग्ने मध्ये फिफा वरीयतामा सबैभन्दा माथि रहेको टिम हो अर्जेन्टिना । दुई पटकको उपाधि विजेता । अनि ३६ वर्षपछि पहिलो विश्वकप जित्ने लक्ष्यमा रहेको अर्जेन्टिनाले कप्तान लिओनल मेसीको प्रेरणादायी प्रदर्शनमा अन्तिम चारको यात्रा तय गरेको छ ।

अर्जेन्टिनाले सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा फाइनल पुगेको थियो तर जर्मनीसँग पराजित भयो । त्यसको ८ वर्षपछि अर्जेन्टिना सेमिफाइनल पुगेको हो । २०१८ को विश्वकपमा अन्तिम १६ मा फ्रान्ससँग पराजित हुँदै बाहिरिएको थियो । मेसीको लागि यो अन्तिम विश्वकप हुने सम्भावना रहेकोले पूरा टिम र अर्जेन्टिना नै अहिले एकजुट बनेको छ विश्वकप जित्नका लागि । कतारमा पनि अर्जेन्टिनाले समर्थकको उत्तिकै साथ पाइरहेको छ ।

उपाधि दाबेदार मध्ये एक टिमको रुपमा कतार पुगेको अर्जेन्टिना पहिलो खेलमै साउदी अरेबियासाग २-१ ले स्तब्ध भएको थियो । यसले समूह्यबाटै घर पर्काउने शंका उत्पन्न गरे पनि मेसीले उत्कृष्ट प्रदर्शन गर्दै अर्जेन्टिनाको विश्वकप जित्ने सपना बाँकी राखेका छन् ।

फिफाको सिमुलेसन अनुसार अर्जेन्टिनाकै कप्तान लिओनेल मेस्सी प्रतियोगिताको सर्वाधिक गोलकर्ता बन्नेछन् । फिफा विश्वकप २०२२ कतारको उपाधि अर्जेन्टिनाले जित्ने अनुमान विश्व प्रसिद्ध भिडियो गेम फिफा २३ ले लगाएको छ । इलेक्ट्रोनिक आर्ट्स (इए) ले फिफासँग आधिकारिकता खरिद गरेर बनेको यस भिडियो गेम फुटबलको नम्बर १ खेल हो ।

यसअघि सन् २०१०, २०१४ र २०१८ मा पनि इएको फिफा खेलले गरेको अनुमान सही सावित भएको थियो । यसपटक अर्जेन्टिना प्रतियोगिताको उपाधि दावेदार टोली मानिएको छ । फिफाले प्रतियोगिताको समूह विभाजन अनुसार नै गरेको सिमुलेसनबाट फाइनल अर्जेन्टिनाले जित्ने नतिजा निस्किएको हो ।

यसअघि सन् २०१० मा फिफाको सिमुलेसनमा स्पेनले विश्वकप जित्ने नतिजा आएको थियो । स्पेनले त्यसबेला नेदरल्यान्ड्सलाई पराजित गर्दै उपाधि जितेको थियो । त्यसयता सन् २०१४ मा जर्मनी र सन् २०१८ मा फ्रान्सले नै विश्वकप जित्ने फिफाको अनुमान थियो ।

Comments