नायिका केकी अधिकारीले जन्मदिन मनाउदै लेखिन मनछुने स्टाटस !

 


अहिलेकि चर्चित,व्यस्त र लोकप्रिय नायिका केकी अधिकारीले जन्मदिन मनाएकी छिन् । उनको जन्म १९८९ डिसेम्बर १७ मा काठमाडौंको जोरपाटीमा भएको हो । आमा लक्ष्मी अधिकारी र बुवा बद्री अधिकारीको एक्ली छोरी हुन् केकी, सानैदेखि डाक्टर बन्ने सपना बोकेर अगाडि बढेकी केकी एक्कासी अभिनय क्षेत्रमा ठोक्किन आइपुगेको उनिले बताउँदै आएकी छिन् ।

उनले अभिनय यात्रा म्युजिक भिडियोदेखि सुरु गरेकी हुन् । सन २०१० मा चलचित्र ‘स्वर’ बाट फिल्म नगरीमा पाइला चालेकी केकीले त्यसपछि लगातार आफूलाई यसै क्षेत्रमा समर्पित गरिरहेकी छिन् । केकीले आफ्नो जन्मदिन फिल्म ‘प्रसाद २’को सेटमा मनाएकी छिन् । यो फिल्मको छायांकन सुरु भएको केही दिन मात्र भयो ।

नेपाली फिल्म क्षेत्रमा नायिका केकी अधिकारीको डेब्यू ‘स्वर’बाट भयो । यो फिल्मबाट डेब्यू गरेपनि केकी अधिकारीलाई सुपरहिट फिल्मको पर्खाई भने लामो समयसम्म लिनु पर्यो । फिल्म ‘छ माया छपक्कै’ मात्र केकीको पहिलो सुपरहिट फिल्म बनेको थियो । त्यो अघि केकीले अभिनय गरेका २५ वटा फिल्म कुनै औषत चले भने अधिकांश असफल रहे ।

केकी अधिकारी सामाजिक संजाल र मिडियामा सधै नै चर्चामा रहन्छिन् । विशेषगरि, उनको बोल्ने शैलीका कारण उनी मिडियाको खोजीमा पर्छिन् । तर, हलमा भने उनका लागि दर्शकले मोह खासै देखाएको पाइदैन । किनकी, केकीले काम गरेका अधिकांश फिल्म असफल हुनुको कारण पनि यही हो । केकीको बक्स अफिसमा स्टारडम कमजोर छ ।

उनले जन्मदिन मनाउदै लेखेकी छिन्- यस बर्षको जन्मदिन (पौष ३/ डिसेम्बर १७)मा प्रत्यक्षअप्रत्यक्ष बिभिन्न माध्यमहरुबाट शुभकामना दिनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद !! जन्म दिएर यो सुन्दर जीवन अनुभुत गर्ने सौभाग्यका लागी बाबाआमालाई नमन छ। आफ्नो मनले चाहेकै काम गर्न पाउनु र कर्मक्षेत्रमै जन्म दिन मनाउन पाउनुलाई मैले मेरो अहोभाग्य ठानेकी छु।

यो सुखद अवसरका लागि मेरो #प्रसाद२ का सम्पूर्ण परिवारलाई धन्यवाद । यति राम्रो काम गर्ने टिम बिरलै पाइन्छ। यस अर्थमा पनि यति कुशल निर्देशक, निर्माता, कलाकारहरु, प्राविधिकहरुको बिच रहेर जन्मदिन मनाउन पाउनु मेरा लागी भाग्यकै कुरा हो। हरेक जन्मदिनमा जस्तै यसपटक पनि मैले आफैसङ्ग केही बाचा गरेकी छु।

एक असल मानिस बन्न सकूँ, इमानदार भएर आफ्नो हरेक जिम्मेवारी पूरा गर्न सकूँ, कला क्षेत्रको लागि सधै काम गरिरहन सकूँ, जानीनजानी कसैको चित्त नदुखाउने कोशिस गरिरहन सकूँ। यहाँहरुको माया,सद्भाव,सम्मानलाई सधै कायम राखीरहन सकूँ। जिन्दगीको यो पलसम्म आइपुग्न सहयोगी सम्पूर्ण भोगाइ,प्रार्थना,साथ,शुभेच्छा,आशिर्वाद ,आलोचनाहरुप्रती धन्यवाद !!

Comments