गाडीमा हालेर कम्पनीले समुद्रमा फालिदिन्छु भन्दै लग्दा बाँच्छु भन्ने लागेकै थिएन’ उहाँलाई त्यति बेला न मृत्युसँग डर लाग्यो न त बाँच्ने नै रहर लाग्यो!

 


विदेश गएपछि देश फर्कन पनि कहाँ सजिलो रहेछ र, बिदेसिएकाहरू घर फर्कनु भनेको त युद्ध जित्नु सरह रहेछ’ इलामका होमनाथ चापागाईँ मलेसियाबाट घर फर्कन आफूले गर्नु परेको सङ्घर्ष सम्झँदै भन्नुहुन्छ । मलेसियामा सेक्युरिटीको काममा जानुभएका होमले कम्पनीले दिएको शारीरिक र मानसिक पीडा सहँदै काम गर्दा बिरामी भएर ज्यान थला परेपछि आफूलाई आफ्नै देश फर्काइदिन आग्रह गर्नुभयो । तर उसकै नामको भिसा लिएर गइसकेपछि स्वदेश फर्कन त परको कुरा मर्न पनि अनुमति चाहिने रहेछ भन्नुहुन्छ होम ।

होमलाई लाग्थ्यो ‘सायद अब यो देशबाट जिउँदै घर फर्कन लेखेकै छैन ।’ किनकि पाँच वर्ष रगत पसिना बगाएको कम्पनीले कुनै दिन पनि मानवीय व्यवहार नै गरेन । बिरामी हुँदा वास्ता गरेन । डर र धम्की दिँदै काममा लगायो । जब गुहार माग्दै दूतावासको कार्यालयसम्म पुग्दा दूतावासले समेत गाली गर्दै कम्पनी मै फर्काएपछि भने घर फर्कने होमको आशा निराशामा बद्लियो । सन् २०१६ को नोभेम्बर १३ मा होमले मलेसियामा पाइला टेक्नुभएको थियो । उमेरले ४० टेक्नुभएको थियो ।

गाउँघरमै अलिअलि काम गर्दा घर चलेन । उल्टो ऋण बढ्यो । त्यसमा १ लाख ५० हजार रुपैयाँ ऋण थप्नुभयो र घरमा सात वर्षका छोरा र श्रीमती छाडेर परदेश लाग्नुभयो होम । तर मलेसियामा पुग्नासाथ पहिलो गाँसमै ढुङ्गा लाग्यो । कम्पनीबाट विमानस्थलसम्म लिन समयमा आएन । विमानस्थलमै भोक भोकै ५ घण्टा कुर्न पर्‍यो । ‘नेपालदेखि गएमा थियौँ हामी, केही खाउँ न त भन्दा पनि साथमा पैसा थिएन’ त्यो क्षण सम्झँदै होम भन्नुहुन्छ ‘कम्पनी लगेर पनि राती हामी सुतिसकेपछि मात्रै खानेकुरा दियो ।’

अर्को देशबाट आएकाहरूलाई कम्पनीले गरेको त्यही एउटा व्यवहारले नै होमको मनमा चिसो बसेको थियो । मनले भनेको थियो – यो कम्पनी त ठिक छैन कि क्या हो । सेक्युरिटीको काममा जानुभएको थियो । जाने बेला म्यानपावरले १९ सय मासिक तलब र अन्य बिदाहरू र बढी समय काम गर्दा ओभर टाइम पनि पाउने भनेर सम्झौता गराएको थियो । तर काम गर्न थालेपछि त्यसको ठिक उल्टो भइदियो ।

कम्पनीले महिनाको १६ सय पाउने गरी सम्झौता गरायो । काम महिनाको ३० दिन नै काम गर्नु पर्‍यो । दिनमा काम गर्ने समय असीमित थियो । कम्तीमा १२ घण्टा र बढीमा १८ घण्टासम्म ड्युटी तोकिन्थ्यो ।न बिदाको दिन काम गरे बापत पैसा आउँथ्यो न त म्यानपावरले भनेजस्तो कुनै चाडबाडमा बेलाको । तलब सुख्खा १६ सय रिंगिट थियो । काम गर्न सक्दिन भन्ने कुनै छुट् थिएन । थकाइ लाग्यो, ज्यानलाई सन्चो भएन भन्दा कम्पनीले एक हप्ताको तलब काटिदिने धम्की दिन्थ्यो । डरैडरमा काम गर्नु पर्थ्याे ।

कोठामा मानिसलाई भेडा बाख्रा जतिकै राखियो – काम कि त जङ्गलको छेउछाउ कि त अत्यधिक भिडभाड हुने स्थानमा पथ्र्यों । कामको समयमा कम्पनीले नै मोबाइल राखिदिन्थ्यो । छुट्टी भएपछि कोठामा फर्कने बेलामा मात्रै मोबाइल हातमा दिन्थ्यो । तर कोठाको कथा व्यथा अर्कै थियो । एउटै कोठामा थुप्रै मान्छेहरू राख्ने । कोही ड्युटी सकेर सुतिरहेको हुन्थ्यें । कोहीको सुत्ने समय भएको हुन्थ्यो । सुतिरहेकाहरूलाई डिस्टर्ब गर्न नपाइने नियम थियो । यदि आफ्नो कारणले कोही साथीलाई डिस्टर्ब भयो र उसले कम्पनीमा उजुरी गरिदियो भने एक हप्ताकै तलब काटिन्थ्यो । होम भन्नुहुन्छ ‘बाहिर गएर पनि बोल्ने ठाउँ थिएन, रुमबाटै फोन गर्दा पनि निदाइरहेको साथीभाइ बिउँझिने, छटपटी हुन्थ्यो, कहाँ फसेँ म भन्ने सोचेरै असाध्यै नराम्रो लाग्थ्यो ।’

कम्पनीले यस्तो वातावरण बनाइदिएको थियो कि त्यहाँ भएका हरेक कुराहरू निर्विकल्प थिए । ‘भागेर कहाँ जानु कम्पनीले खोजी खोजी ल्याउन थालेपछि मरे पनि मरौँला भन्दै काम गरिरहेँ’ होम भन्नुहुन्छ ‘अर्काको देश, भागेर पनि कहाँ जानु र, ठाउँ नै भेटिएन ।’होमका लागि कम्पनीले लगाएको हरेक नियम मन्जुर थियो । तर परिवारसँग सन्चो बिसन्चो सोध्न पनि डराउनु पर्ने परिस्थितिले भने पलपलमा पोल्थ्यो । तर नाइँ भन्ने विकल्पै थिएन ।

लगातारको ड्युटी र कडा तालिम ज्यानले धानेन – होमले मलेसियामा काम गर्ने कम्पनीको नाम डबल थ्री सेक्युरिटी हो । कम्पनीले सहज र कम भिडभाड हुने स्थानमा मलेसियन नागरिकलाई नै ड्युटी पाथ्र्यों । अलिक भिडभाड हुने र अप्ठेरा ठाउँहरूमा नेपाली लगायत विदेशी श्रमिकलाई खटाउथ्यों । कम्पनीले तोकेको ड्युटी सकेपछि दैनिक सबै जना अनिवार्य तालिममा सहभागी हुन पथ्र्यों । तालिम एकदमै कडा कडा थियो । रनिङ, पुसअप, सिटअप, चिनअप लगायत अन्य शारीरिक तालिम हुन्थ्यो ।

‘दिनमा १४ देखि १८ घण्टासम्म लगातार उभिएर काम काम गर्यो, आरामै नगरी फेरि तालिम गर्दा त मुखबाट ह्वालह्वाली रगत आउन थाल्यो’ होम सुनाउनुहुन्छ । उभिएर काम गर्दा खुट्टाहरू जुत्तामै नअट्ने गरी सुनिन थाले । औलाहरू पाकेर भएका घाउ जुत्ता भित्रै चरचरी चहर्‍याउँथ्यो । ‘दुखाई यस्तो हुन्थ्यो कि जुत्ता कति बेला खोलौंजस्तो हुने, सेक्युरिटीको काम भएपछि चप्पल लगाउन पनि नमिल्ने, खुट्टादेखि टाउकोसम्मै दुख्थ्यो, त्यो बेला त रुनु कि हाँस्नु हुन्थ्यो’ त्यो क्षण सम्झँदै भन्नुहुन्छ ‘अहिले सम्झँदा पनि दुखेजस्तो लाग्छ त्यो पीडा त ।’

दूतावासले समेत बास दिएन – बिमारी ज्यान त्यसमाथि कम्पनीले दिने शारीरिक र मानसिक तनाव । त्यस बेला होमका अघिल्तिर दुई विकल्प थिए । एउटा कम्पनीबाट भाग्ने अर्को चाहिँ घर फर्कने । कम्पनीबाट भागेर काम गर्न असम्भव जस्तै थियो । त्यसैले उहाँले कम्पनीलाई आफ्नो ज्यानले काम गर्न नसक्ने भन्दै घर फर्काइदिन अनुरोध गर्नुभयो । कम्पनीले नाइँ भनेन । यो मितिमा पठाउँछु भन्दै कागजात पनि देखायो । कम्पनीले कागजै देखाएपछि होम भने घर फर्कने झिनो आशा बोकेर सकी नसकी काम गरिरहनुभएको थियो । कम्पनीले दिएको समय बितेर गयो । तर घर पठाएन । हामीले केहि लेख मात्र उज्यालो अनलाईनबाट साभार गरेका हौ । पुरा जानकारीका लागि उज्यालो अनलाईन डटकममा गएर पढ्न र हेर्न सक्नुहुनेछ।

Comments