खेल हारेर बिश्वकप बाट बाहिरीए पनि रोनाल्डोको नाममा बन्यो नया रेकर्ड

 


काठमाडौं, २५ मंसिर – अफ्रिकन टोली मोरक्को शनिबार राति पोर्चुगललाई १–० ले पराजित गर्दै फिफा विश्वकपको इतिहासमै पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ । युसुफ अल नासिरीले पहिलो हाफमा गरेको हेड गोल निर्णायक बनेपछि मोरक्को सनसनीपूर्ण नतिजा निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो ।

दोहास्थित अल थुमामा रंगशालामा मोरक्कोका लागि खेलको ४२औं अटिया अल्लाहको क्रसमा युसुफ अल नासरीले गोल गरे । यस अघि पोर्चुगलले स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेको थियो ।

तर, खेलमा क्रिस्टियानो रोनाल्डोले भने एउटा अर्को कीर्तिमान बनाउन सफल भएका छन् । मोरक्कोविरुद्धको खेलमा मैदान प्रवेश गरेसँगै रोनाल्डोले सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमानलाई बराबरी गरेका हुन् ।

अतिरिक्त खेलाडीका रूपमा रहेका रोनाल्डो खेलको ५१ औँ मिनेटमा मैदान प्रवेश गरेका थिए । पोर्चुगलका लागि उनको यो १९६ औँ खेल थियो । योसँगै उनले कुवेतका बदेर अल मुतावाको सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बराबरी गरेका छन् ।

रोनाल्डोले सन् २००३ मा कजाकिस्तानविरुद्ध पोर्चुगलको राष्ट्रिय टोलीका लागि डेब्यू गरेका थिए । त्यतिबेला उनी १९ वर्षका मात्र थिए । १९६ खेलमा रोनाल्डोले पोर्चुगलका लागि ११८ गोल गरिसकेका छन् । यो विश्वकपमा उनले घानाविरुद्ध गोल गरेका थिए । उनी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता पनि हुन् । उनले सन् २०२१ मा अली देइको कीर्तिमान भङ्ग गरेका थिए ।

Comments