- Get link
- X
- Other Apps

गायक भीम पौडेलको मृत्यु भएको छ। उनको स्याङ्जास्थित घरमा बिहीबार बेलुका १२ बजे मृत्यु भएको हो। राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपालका केन्द्रीय सचिव जिवन दाहालका अनुसार उनी दुई महिनादेखि बिमारी थिए। उनलाई निमोनिया भएको थियो। त्यसयता उनी घरमै आराम गरिरहेका थिए।
पौडेलको पार्थिव शरीरलाई शुक्रबार पोखरास्थित रामघाटमा अन्तिम संस्कार गरिने दाहालले बताए। पछिल्लो समय गायक पौडेल आफ्नै युट्युब च्यानलमा लाइभ दोहोरी गाउँथे। उनले केही समयअघि पोखरा विमान दुर्घटनामा परेकी गायिका निरा छन्त्यालसँग पनि लाइभ दोहोरीमा गीत गाएका थिए।
उनले तिम्रो सिउँदो भर्न सकिनँ, रुमालै बैना, मरे मत मरेलगायत गीतमा स्वर दिएका छन्। लोकप्रिय रहेका पौडेलको निधनले लोकदोहोरी क्षेत्रले ठूलो क्षेति बेहोरेको उनले बताए। यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गायक पौडेलप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री प्रचण्डले पौडेलको अल्पायुमै निधन भएकोप्रति गहिरो दु:ख प्रकट गर्दै परिवारजन र आफन्तहरुप्रति समवेदना व्यक्त गरेका छन् । यस्तै पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले पनि गायक पौडेलको निधनमा दु:ख व्यक्त गरेका छन् ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष बीजीले फेसबुकमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै आफू स्तब्ध भएको उल्लेख गरेका छन् । पछिल्लो समय गायक पौडेल लाइभ दोहोरी गायनमा सक्रिय थिए । ‘भीम शालीन स्वभावका गायक हुन् ।
उनको निधन समग्र लोकदोहोरी क्षेत्रकै लागि अपूरणीय क्षति हो,’ अध्यक्ष बीजीले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका छन् । पौडेलको पार्थिव शरीरलाई शुक्रबार नै पोखरास्थित रामघाटमा अन्तिम संस्कार गरिने भएको छ । उनलाई श्रद्धाञ्जली दिन काठमाडौंबाट केही कलाकार पोखरा गएका छन् ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment