- Get link
- X
- Other Apps

पुरानै विमानस्थलतिर जहाज आइरहेको देखेपछि पोखरा पृथ्वीचोकका सञ्जय श्रेष्ठ आइतबार द्विविधामा परे । यती एयरको जहाज काहुँ डाँडापट्टिबाट बसपार्क हुँदै पुरानो विमानस्थलतर्फ सोझियो तर त्यहाँ अवतरण नगरी देब्रे मोडियो । जहाज कता जाँदै छ भन्ने पत्तो नपाउँदै ठूलो आवाज आयो । धूवाँको मुस्लो निस्कियो । उनी त्यतैतिर दौडिए ।
पोखरा–१५ चोरसाँघुनजिकै सेती खोचबाट एक सय मिटरको दूरीमा छ ब्लक उद्योग । माघे संक्रान्तिको दिन उद्योगमा बिदा थियो । कामदार क्यारमबोर्ड खेलेर समय बिताइरहेका थिए । बिहान १०ः५० बजे पुरानो विमानस्थलतिरबाट ब्लक उद्योग ताकेर हल्लिँदै–हल्लिँदै जहाज आयो ।
हेर्दाहेर्दै जहाज पारिपट्टिको भित्तामा धस्सिँदै खोच पार गरेर वारिपट्टि ठोक्किन आइपुग्यो । धन भुजेल र उनका साथीहरूले केही मेसो पाएनन् । विस्फोटको ठूलो आवाज आएपछि भने क्यारमबोर्ड छाडेर उद्योगपछाडि पुगे । ‘आगो र धूवाँको मुस्लोले अगाडि जानै सकिएन,’ उनले भने, ‘आगो बाँसको टुप्पोसम्मै आएको थियो । उद्धार गर्न पनि जान सकेनौं ।’
ब्लक उद्योगकै कामदार कुमार आले भने त्यतिबेला सेती खोचमा थिए । उनी माछा मार्न सेती झरेका थिए । रहमा बल्छी थाप्दै गर्दा माथिबाट एक्कासि ढुंगामाटो बर्सियो । ढुंगाले उनको काँधमा लाग्यो । उनी रहमा हुत्तिए । उनी पानीमै हुँदा दुईपल्ट विस्फोटको आवाज आयो । त्यतिञ्जेलसम्म उनले केही मेसो पाएनन् । झन्डै दुई सय मिटरमुनिको खोचबाट माथि हेर्न सक्ने अवस्था थिएन । उनीभन्दा केही माथि जहाजको भाग खस्यो तर उनले के खसेको भन्ने ठम्याउन सकेनन् । घरि ओढारमा बस्दै, घरि बुटा समाउँदै उनी माथि आएपछि बल्ल जहाज दुर्घटनामा परेको भेउ पाए । उनको काँध, निधार र खुट्टामा चोट लागेको छ ।
त्यसबेला उनका तीन छोरी र एक छोरा उद्योगमै खाना खाइरहेका थिए । जहाज ठोक्किएपछि खाना छोडेर दौडिए । आइतबार साँझ ५ बजे उद्योगमा भेट्दा आलेले भने, ‘छोराछोरीको सातो गएको छ । मैमाथि जहाज खस्दा बाँचेर आइएछ भन्ने भएको छ ।’
म १० बजेतिर सेती खोचमा झरेको थिएँ । अरू तीन जना पनि अलिक माथि रहेछन् । बल्छी थापिरहेको थिएँ, एक्कासि गड्याङगुडुङ गर्यो र ढुंगामाटो झर्यो । के भयो भन्ने थाहै भएन । बम पड्केको जस्तो आवाज आयो दुईपल्ट । कहींकेही देखिन, धूवाँले अँध्यारो भयो । पूरै माटैमाटो भएको थिएँ । माथितिर हेर्न सक्ने अवस्थै थिएन । मलाई काँधमा ढुंगाले लागेर पानीको तालमा फालिदियो ।
तल गयो भने झन् ढुंगाले लाग्छ भन्ने सोचेर माथि–माथि चढें । बीचमा ओढार जस्तो छ, केहीबेर त्यहीं बसें । आगोको मुस्लो पनि खसेको थियो तर म पानीले पूरै भिजेकाले धेरै पोलेन । ठूला ढुंगा खस्न बन्द नहुन्जेल ४–५ मिनेट ओढारमै बसें । ढुंगा खस्न रोकिएपछि ओढारबाट निस्किएर उक्लँदा बाटोमै दुईवटा टुक्रा जलिरहेको देखें । तिनलाई नै नाघेर आएँ । मेरो खुट्टा, निधार र काँधमा चोट लागेको छ ।
पछि माथि आएपछि बल्ल प्लेन झरेको रहेछ भन्ने थाहा भयो । धन्न मैमाथि खसेन, कसरी बाँचेछु जस्तो लागेको थियो । खोच नभएको भए सिधै ममाथि खस्ने रहेछ । इन्जिन त खोलामै पुगेको छ । मभन्दा २० मिटरजति पर खसेको थियो । मान्छेहरू कराएको केही सुनिनँ ।
बरु मेरो भाइ अर्जुन आले कराएको सुनेको थिएँ । दाइ, दाइ भन्दै बोलाएको चाहिँ सुनेको थिएँ । माथि आएपछि सुरुमा उसलाई भेटें । म आफैं कास्की सेवा अस्पताल गएँ, साहुको भाइको स्कुटरमा । पहिला त अस्पताल जान्न, ठीकै छ भन्ने लागेको थियो । पछि शरीर नै करकर खान थालेपछि जान्छु भन्ने लाग्यो ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment