- Get link
- X
- Other Apps

काठमाडौं । प्रहरीले ‘नेपाली गर्ल’ नामको एप प्रयोग गरेर लाखौं रकम ठगी गर्ने ८ जनलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । शुक्रबार जिल्ला प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलन आयोजना गरी एप बनाएर विभिन्न व्यक्तिको बैंक खाता ह्याक गरी ५० लाखभन्दा बढी ठगी गर्ने ८ जनालाई सार्वजनिक गरेको हो।
भारतको बिहार प्रदेश सितामढी जिल्ला मधुरापुर–७ बाजपट्टी थानाका २९ वर्षीय अवधेश कुमार, सप्तरीको कृष्णासवरन गाउँपालिका–२ का ३४ वर्षीय दिलिप कुमार चौधरी, पर्साको बिन्दावासिनी–८ का ३३ वर्षीय अजय चौधरी भनिने नगेन्द्र साह कानु, रौतहटको रंगपुर नगरपालिका–१ का २७ वर्षीया रविना चौधरी, बाराको कोल्हवी नगरपालिका–४ का सन्तोष कुँवर, पर्साको वीरगञ्ज महानगरपालिका–२५ का २८ वर्षीय राजु पटेल, सोही ठाउँका २० वर्षीय साहिल परबेज र सोही ठाउँका १९ वर्षीय शिवशंकर राउत पक्राउ परेका छन्।
यी ८ जनामध्ये टोलीको नाइकेचाहिँ राजु पटेल हुन्। उनीचाहिँ व्यवस्थापकको भूमिकामा रहेको देखिन्छन् । त्यस्तै, आईटी डिपार्टमेन्टमा साहिल परबेज र शिवशंकर राउत रहेको प्रहरीले जनाएको छ । यसैगरी एटिएम खोजेर दिनेमा सन्तोष कुँवर रहेका छन् भने एटिएम खोज्ने र एटिएमबाट पैसा निकाल्ने भूमिकामा नगेन्द्र साह कानु रहेको देखिन्छ ।
एटिएम ह्याक गरेर खाताबाट पैसा निकालिएपछि पीडितले ललितपुर परिसरमा उजुरी दिएपछि परिसरले विशेष टोली नै गठन गरी अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा उनीहरुलाई प्रहरीले हेटौंडा, काठमाडौं र ललितपुरबाट पक्राउ गरेको हो। उनीहरूले बनाएको एप ‘नेपाली केटी’ ह्वाट्सएपमार्फत् विभिन्न मानिसलाई पठाउने गर्थे। र, उक्त लिंक खोल्नासाथ एप आफैं डाउनलोड हुने र ह्याक भइहाल्थ्यौँ ।
प्रक्रियागत ढंगले उनीहरु विभिन्न व्यक्तिको खाता ह्याक गरेर नेपाल भारतको सीमानामा रहेका एटिएमबाट पैसा निकाल्ने गर्थे । हालसम्म उक्त एपमार्फत ५० लाख ठगी भएको भनिए पनि विस्तृत अनुसन्धान गर्न बाँकी नै रहेको प्रहरीले जनाएको छ। यो समूहले उक्त रकमभन्दा बढी ठगी गरेको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गर्न उच्च अदालत पाटनबाट बैंकिङ कसूरमा म्याद थप गरेको छ।
प्रहरीका अनुसार फोन ह्याक गरेर उनीहरूले पैसा झिकिहाल्दैनथे। एउटा व्यवस्थापक, आइटी र तेस्रो खालका मानिसहरूले कागजात संकलन गर्ने र पैसा झिक्ने गर्थे,’ उनले भने, ‘सन्तोष र नागेन्द्रलगायत एटिएमबाट पैसा झिक्ने भूमिकाका व्यक्तिहरू हुन्।’ उनीहरूले पैसा पनि सीमानामा रहेका एटिएमबाट झिक्ने गरेको उनले बताए।
परिसरमा जाहेरी परेका पीडितको फोनबाट झिकिएको पैसा निकालेको थाहा पाएपछि प्रहरीले हेटौंडाबाट एक जनालाई पक्राउ गरेको थियो। त्यसपछि शृंखलाबद्ध रूपमा अन्यलाई पनि विभिन्न ठाउँबाट पक्राउ गरेको थियो । यसमा विस्तृत अनुसन्धान गर्न बाँकी नै रहेको प्रहरीले जनाएको छ। तर यो समूहले थुप्रैलाई ठगी गरेको खुलेको छ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment