गायिका मिलन नेवार भन्छिन, ‘जिन्दगीमा प्रगति गर्न उतारचढाव पनि चाहिने रहेछ’ (भिडियो हेर्नुस्)

 

काठमाडौं । भारतीय राज्य आसामको एउटा गाउँबाट रुमानी सपना बोकेर काठमाडौं आएकी थिइन्, मिलन नेवार । उनको सपना थियो गीत-संगीतमा पृथक चिनारी बनाउने । आसाममा छँदा उनले गायकीमा राम्रै छाप छाडिसकेकी थिइन् । थोर-बहुत चर्चा र यश मिलेको थियो । यद्यपि काठमाडौंको जुन धरातलमा उनी उत्रिइन्, त्यो उनको लागि नितान्त नयाँ थियो र काठमाडौंका लागि उनी एक अपरिचित ।

आसाममा हिट भइसकेकी गायिकाको नेपालमा आएर शून्यबाट करिअर सुरु गर्नुपर्दाको संघर्ष आफैंमा अर्थपूर्ण लाग्छ । करिब १३ वर्षअघि संगीत क्षेत्रमा आफ्नो भन्ने कोही नभएको बिरानो सहर काठमाडौंमा आएर उनले छोटै समयमा आफ्नो कलाको जादू छर्न सफल भइन् ।

‘मेरो यहाँ आफ्नो भन्ने त दिदी भिनाजु मात्रै हुनुहुन्थ्यो । मेरो बुबाले पूर्खाको देशमै गएर तिमीले आफ्नो कला फैलाउनुपर्छ भन्नुभएको कुराले नेपालमै आएर केही गर्ने सोच आएको हो । त्यसबेला भिनाजुले मलाई रेकर्डिङ स्टुडियोमा लाने-ल्याउने गरेर धेरै सहयोग गर्नुभयो,’ अनलाइनखबरको गफ स्टेसनमा गफिने क्रममा मिलनले भनिन्, ‘कसो कसो आएको केही समयमै पहिलो एल्बम मिलन निकालें । त्यसको जहिलेदेखि संसारमा गीत निकै रुचाउनुभयो । त्यसपछि खास पछाडि फर्केर हेर्नुपरेनजस्तो लाग्छ ।’

मिलनको टर्निङ प्वाइन्ट बनेको गीत चाहिं ‘गाला रातै’लाई मान्न सकिन्छ । ‘नोटबुक’ यो गीतले आफूलाई ‘मास अडियन्स’मा चिनाएको उनी सुनाउँछिन् । हुन त यसअघि उनले अर्को नेपाली फिल्म ‘मेरो बेस्ट फ्रेण्ड’का लागि ‘म पन्छी हुँ चुम्छु फूलको डाली डाली’ गीत रेकर्ड गराएकी थिइन् । तर त्यो गीत पाँच वर्षपछि मात्रै रिलिज भएछ ।

सांगीतिक करिअरको ग्राफ उकालो लागिरहेको बेला निजी जीवनमा केही उतारचढाव भोगेकी मिलन यस्ता कुराले थप बलियो बनाउने अनुभव सुनाउँछिन् । ‘जिन्दगीमा प्रगति गर्न उतारचढाव पनि चाहिन्छ । अनुभवहरुले राम्रो-नराम्रो छुट्याउन सक्ने बनाउँदो रहेछ,’ उनी भन्छिन् । ‘स्टेजमा प्रत्यक्ष दर्शक-श्रोताले सुन्न नपाएसम्म कलाकार परिपूर्ण नहुने रहेछ ।

स्टुडियोमा पनि भ्याइनभ्याइ भएकी मिलनलाई अब ब्याण्डसहितको कन्सर्ट गर्ने सोच छ । हालै मात्र ‘सुनसान रात २’ गीतको लिरिकल भिडियो सार्वजनिक गरेकी मिलनलाई म्युजिक भिडियोमा बढेको अप्रत्यासित खर्च र अस्वस्थ प्रतिस्पर्धाले चिन्तित पनि बनाएको रहेछ । गफ स्टेसनमा उनले गीत सुन्ने कि हेर्ने भन्ने विषयमा गज्जब तर्क पेस गरिन्, ‘समयको मागको हिसाबले चल्नुपर्छ ।

गीत-संगीत श्रवण गर्ने चीज हो, कानलाई शीतलता दिने चीज हो । कानबाट मन-मस्तिष्कमा छिरेर आफूले कल्पना गर्ने कुरा हो । भिडियोलाई प्राथमिकता दिनु राम्रो होइन ।’ प्रशस्त बजेट नहुँदा व्यावसायिक कलाकारलाई भिडियो बनाउनै गाह्रो भएको समेत उनले सुनाइन् । गायिका मिलन नेवारसंग अनलाईन खबरले गरिएको विस्तृत कुराकानी भिडियोमा :

Comments