आमा बन्दै नायिका रेखा थापा

 

काठमाडौ । नेपाली फिल्म उद्योगमा हिरोको पहिचान बनाएकी अभिनेत्री हुन् – रेखा थापा। नम्बर एक नायिकाको सूचीमा रहेकी रेखालाई दर्शकले नयाँ फिल्ममा देख्न नपाएको धेरै समय भयो। कारण रेखा फिल्मी दुनियाँ छाडेर राजनीतिमा लागिन्। तर फिल्ममा जस्तो राजनीतिमा रेखा सफल हुन सकिनन्। उनी पुनः फिल्ममा फर्किने तयारीमा छिन्।

आगामी फागुन र वैशाखमा रेखाका दुई फिल्म छायांकनमा जाने तयारीमा छन्। प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ह्यारीकी प्यारी’को एक गीतमा आइटम डान्स गरेकी रेखाले आफू आमा बन्ने तयारीमा रहेको खुलासा गरेकी छन्।

उनले ‘ह्यारीकी प्यारी’को गीत सार्वजनिक कार्यक्रममा भनिन्, ‘सन्तान र फिल्म सम्भवतः सँगै आउन सक्छ। नयाँ फिल्मको तयारीमा छौँ। जहाँसम्म बच्चाबच्चीको कुरा छ, त्यो भगवान्‌ले चाहे हुन सक्छ। यसरी बुझ्नुस न, भान्जाभान्जी र फिल्म सँगसँगै आउने तयारीमा छन्।’

हाल दुइ चलचित्रको काममा ब्यस्त छिन् । जाजरकोटका बलराम शाहीसँग २०७८ सालमा अदालती विवाह गरेकी अभिनेत्री रेखा थापाले सन्तानका लागि अहिले आफ्नो उमेर नभइसकेको बताएकी छन् । उनले भनिन्, ‘कोरोना महामारीका कारण रोकिएको फिल्म अब सुरु गर्दैछु ।

दुईटा फिल्म पाइपलाइनमा छन् । एउटा फागुनमा र अर्को बैशाखमा छायांकन हुनेछ । रेखाले दुई फिल्मध्ये एउटा आगामी भदौमा प्रदर्शन हुन सक्ने बताएकी छन् । आफू जहाँ पुगे पनि पहिलो प्राथमिकतामा फिल्म नै हुने रेखाको भनाई छ । ‘मेरो आत्मा जोडिएको ठाउँ हो यो । जुन ठाउँले मलाई चिनाएको छ, त्यो त छाड्दै छाड्दिनँ ।

मेरो पहिलो प्राथमिकता फिल्म नै हुन्छ,’ उनले भनिन्, ‘मैले फिल्म खेले पनि वा नखेले पनि फिल्म चाहिँ बनाउँछु नै । ९० वर्षको उमेरमा पनि एक्सन-कट भनेरै बस्छु, यदि सकिनँ भने फिल्म निर्माण गरेर भए पनि बस्छु ।’ केहि बर्ष चलचित्र क्षेत्रमा सक्रिय रुपमा काम गरेपनि भविष्यमा भने राजनितीमा पुर्ण रुपमा लाग्ने उनि बताउँछिन् ।

Comments