लोकगायक राजेन्द्र लम्सालको शव स्पेनबाट काठमाडौं ल्याइयो, श्रद्धाञ्जलीका लागि पशुपतिमा राखिने

 


काठमाडौं । आज शुक्रबार लोकगायक राजेन्द्र लम्सालको पार्थिव शरीरलाई स्पेनबाट नेपाल ल्याइएको छ । मध्यान्ह ल्याइपुर्‍याइएको शवलाई बुझ्न लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरसहितका कलाकार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

लम्सालको शवलाई आजै (शुक्रबार) पशुपतिको विद्युतीय गृहमा अन्त्येष्टि गरिने उनका भाञ्जा तथा प्रतिष्ठानका महासचिव शिव हमालले जानकारी दिए । शवलाई विमानस्थलबाट शवयात्रा गरेर पशुपतिस्थित विद्युतीय शवदाह गृहमा लगिने भएको छ । शवदाह गृह परिसरमै शोकसभासहित श्रद्धाञ्जली दिने कार्यक्रम हुनेछ ।

प्रतिष्ठानले वक्तव्य जारी गर्दै लम्सालप्रति श्रद्धाञ्जली व्यक्त गर्नका लागि उपस्थित हुन कलाकर्मीलाई आग्रह गरेको छ । प्रतिष्ठानको युरोप शाखाका संरक्षक समेत रहेका लम्सालको गत फागुन २३ गते निधन भएको थियो । उनी पिसाबसम्बन्धी रोगबाट पीडित थिए । उनी कलाकार तथा मोडल सागर लम्साल बलेका बुवा समेत हुन् ।

उनले गाएका दर्जनौं गीत लोकप्रिय छन् । १२ वर्षदेखि स्पेनमा बस्दै आएका ६० वर्षीय गायक लम्सालले धेरै गीतहरु गएका थिए । उनले । ‘जापान टोकियो’, ‘डोरीको तीन फुदा’, ‘वालिङ फिरफिरे’, ‘शिरमा रिबन सलको पछ्यौरी’, ‘भीरको टुनी हो’ लगायतका दर्जन गीत गाएका छन्।

Comments